‘सरकार पासपोर्ट घरैमा पुर्याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’
काठमाडौं। प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले राहदानी विभागमा देखिएको सेवाग्राहीको लामो लाइनलाई लिएर सरकारमाथि व्यंग्य गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले ‘घरघरमै पासपोर्ट पुर्याउने’ घोषणा गरे पनि व्यवहारमा राहदानी लिन नागरिकले लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको टिप्पणी गरे।
‘सरकार पासपोर्ट घरैमा पुर्याउँछु भन्थ्यो, तर पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ,’ उनले व्यंग्य गर्दै भने, ‘यस्तै अवस्था यातायातसहित अन्य सरकारी सेवा दिने कार्यालयहरूमा पनि देखिएको छ।’
सांसद मल्लले सरकारी सेवा प्रवाह प्रभावकारी हुन नसक्दा नागरिकले अनावश्यक सास्ती खेप्नुपरेको बताए। उनले सेवाप्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले रासायनिक मलको अभाव झेलिरहेको तथा बढ्दो महँगीका कारण नागरिकको दैनिक जीवन थप कठिन बन्दै गएको पनि उल्लेख गरे।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी बर्खास्त गरिएपछि नयाँ नियुक्ति नहुँदा चिकित्सा शिक्षाको प्रवेश परीक्षा प्रभावित भएको भन्दै उनले आयोगका रिक्त पदमा तत्काल नियुक्ति गरी परीक्षा सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरे।
तपाईको प्रतिक्रिया