काठमाडौँ । पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिट क्षेत्रमा मंगलबार बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले दुई जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार टोली, दमकल, हेभी रेस्क्यु सवारी तथा मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो। तर, टोली पुग्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो।
बकाउ प्रहरीले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै संकेत नदेखिएको र स्वास्थ्यकर्मीले उनीहरूलाई घटनास्थलमै मृत घोषणा गरेको उल्लेख गरिएको छ।
प्रारम्भिक विवरणअनुसार मृतक दुवै जना नेपाली नागरिक हुन्। यद्यपि, उनीहरूको औपचारिक पहिचान भने सार्वजनिक गरिएको छैन।
उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना के कारणले भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीले अनुसन्धान सुरु गरेका छन्।
तपाईको प्रतिक्रिया