ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना
काठमाडौं। बागमती प्रदेश सभा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना भएका छन्।
सोमबार गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा भनाभन भएपछि बोल्दै गर्दा थपलिया अचानक बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।
प्रारम्भिक उपचारपछि घरमा आराम गरिरहेका थपलियालाई मंगलबार थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार उच्च रक्तचाप र रगतमा सुगरको मात्रा बढेका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको हो।
बागमती प्रदेशको मुख्यमन्त्री चयनको विषयमा भएको छलफलका क्रममा ओली र थपलियाबीच चर्काचर्की भएको र त्यसपछि उनी बेहोस भएको बैठकमा सहभागी केही नेताहरूले बताएका छन्।
यद्यपि एमाले सचिव महेश बस्नेतले भने थपलियाको घाँटी मात्र अवरुद्ध भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। घटनाबारे पार्टी नेतृत्वले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।
तपाईको प्रतिक्रिया