बिहीबार २१ श्रावण २०८३
बिश्वो

अमेरिका–इरान कूटनीतिक सहमति नजिक, मस्यौदा अन्तिम चरणमा

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित कूटनीतिक सम्झौताका लागि मस्यौदा तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कतारका अनुसार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भए पनि प्रत्यक्ष वार्ताबारे अझै कुनै ठोस निर्णय भएको छैन।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले कतार, ओमान र पाकिस्तानले अमेरिका–इरान संवादलाई सहज बनाउन सक्रिय भूमिका खेलिरहेको बताएका छन्। यसैबीच कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको र मध्यपूर्वमा तनाव कम गर्ने उपायबारे छलफल भएको जनाइएको छ।

यता इरानले अमेरिकी नौसेनाले आफ्ना निर्यात तथा जहाजमाथि नाकाबन्दी गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले तोकिएको मार्गबाहेक अन्य रुटबाट हर्मुज स्ट्रेट पार गर्ने जहाजलाई अनुमति नदिने र आवश्यक परे अमेरिकी युद्धपोतलाई समेत निशाना बनाइने चेतावनी दिएका छन्।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने ओमानसँग सुरक्षित नौवहन मार्गबारे वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि हर्मुज स्ट्रेटमा सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा प्रगति भएको तर अन्तिम सहमति हुन बाँकी रहेको बताएका छन्।

सम्झौताप्रति आशावादी संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेंट क्रुड पाँच प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७९.५० डलरमा झरेको छ भने अमेरिकी डब्लूटीआई पनि ७५.७७ डलर प्रतिब्यारेलसम्म पुगेको छ। तेलको मूल्यमा आएको गिरावटसँगै अमेरिकी शेयर बजारमा भने उल्लेखनीय वृद्धि भएको छ।

 

तपाईको प्रतिक्रिया