सोमबार १८ श्रावण २०८३
समाज

वैशाखयता विपद्‌बाट १ सय ९६ जनाको मृत्यु

आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26

काठमाडौं । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १९६ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन्। यस अवधिमा १ हजार २१८ जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार महिनाको अवधिमा देशभर ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट ५ हजार १८८ परिवार प्रभावित भएका छन्।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। ७१६ वटा सर्पदंशका घटनामा ५४ जनाको मृत्यु भएको छ भने ६६८ जना घाइते भएका छन्। यसबाट ७१८ परिवार प्रभावित भएका छन्।

चट्याङका २३१ घटनामा २५ जनाले ज्यान गुमाएका छन् भने १३२ जना घाइते भएका छन्। लेक लाग्ने ५७ घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन्। त्यस्तै, ६८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु, १ जना बेपत्ता र ३० जना घाइते भएका छन्।

आगलागीका १ हजार २४ घटनामा २० जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्। आगलागीबाट १ हजार १३३ परिवार प्रभावित भएका छन्। यस्तै, जनावरको आक्रमणका २२५ घटनामा १८ जनाको मृत्यु र १ हजार २२० जना घाइते भएका छन्।

यस अवधिमा २०० वटा बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन्। बाढीबाट ४५० परिवार प्रभावित भएका छन्। त्यस्तै, ४८० वटा हावाहुरीका घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन्। हावाहुरीबाट १ हजार ३५८ परिवार प्रभावित भएका छन्।

भारी वर्षाका कारण ४ जनाको, ढुङ्गा पल्टिँदा २ जनाको तथा वन डढेलो, हिउँ पहिरो, विस्फोटन र अन्य छुट्टाछुट्टै घटनामा १/१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। असिना र भूकम्पबाट मानवीय क्षति नभए पनि केही परिवार प्रभावित भएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ स्थानमा ३४ वटा विपद्का घटना भएका छन्। यस अवधिमा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जनावर आक्रमणका ३ घटना दर्ता भएका छन्।

विपद्का घटनामा उद्धार, नियन्त्रण तथा सुरक्षाका लागि २७१ जना नेपाल प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। साथै, १८ वटा चौपाया मरेका छन् भने २ स्थानमा सडक अवरुद्ध भएको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया