सोमबार १८ श्रावण २०८३
समाज

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा आएको हिमपहिरोमा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पालगायत अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको उल्लेख गर्दै यस घटनाले पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको जनाएको छ।

मन्त्रालयका अनुसार नेपाली आरोहीहरू बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय र नेपाली उद्धार टोलीले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका थिए। कठिन भौगोलिक अवस्थाबीच उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहस र समर्पणको मन्त्रालयले प्रशंसा गरेको छ।

हालसम्म दुर्घटनामा परेका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्यको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, मृतक नेपाली आरोहीहरूको शव स्वदेश ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय र सहजीकरण भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया