बिहीबार २१ श्रावण २०८३
अर्थ

राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँको तीन महिने निक्षेप सङ्कलन गर्दै

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ भने निक्षेपको साँवा र ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँका गुणाङ्कमा आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बजारको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया