काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा यांकी उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्याबको नियुक्तिबारे जानकारी दिएका हुन्।
विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभव हासिल गरेकी उक्याबले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट जननीति शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।
उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्य अनुभव बटुलेकी छन्।
यसअघि पनि उक्याबले लगानी बोर्ड नेपालमै वित्त तथा लगानीसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। साथै, नेपाल इकोनोमिक फोरमसँग आबद्ध रहँदै आर्थिक नीति, लगानी तथा विकाससम्बन्धी अध्ययन, अनुसन्धान र लेखनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
तपाईको प्रतिक्रिया