काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट पारित भएका सात प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्का निर्णयहरू यसप्रकार छन्–
१. तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने।
२. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याब (काठमाडौं) लाई नियुक्त गर्ने।
३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने।
४. पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने।
५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डा. रोजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने।
७. सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने।
सरकारका अनुसार यी निर्णयहरू प्रशासनिक सुधार, संस्थागत पुनर्संरचना, शिक्षा, पशु स्वास्थ्य तथा सामाजिक राहत व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो।
तपाईको प्रतिक्रिया