बिहीबार २१ श्रावण २०८३
खेलकुद

एसियन गेम्समा नेपालको १३६ खेलाडी सहभागि हुने, २२ खेलमा प्रतिस्पर्धा

बुधबार श्रावण २०, २०८३/ Wednesday 08-05-26

काठमाडौं । जापानमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार नेपालले २२ खेलमा प्रतिस्पर्धा गर्नेछ। खेलाडीसँगै ३२ प्रशिक्षक पनि टोलीमा रहनेछन्। यससँगै खेलाडी र प्रशिक्षक गरी कुल १६८ सदस्यीय नेपाली टोली जापान जाने भएको छ।

यसपटक छनोट चरण पार गरेको इ–स्पोर्ट्स अन्तिम समयमा एसियन गेम्सको नेपाली टोलीमा समावेश हुन सकेन।

नेपालले कराते, कबड्डी, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइकलिङ, गल्फ, जुडो, सफ्ट टेनिस, स्क्वास, स्वीमिङ, टेबल टेनिस, टेनिस, कुस्ती, भलिबल, क्रिकेट, क्यानोइ स्लालोम, डान्स स्पोर्ट, स्केटबोर्ड, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा गर्नेछ।

टिम खेलतर्फ कबड्डी, क्रिकेट र भलिबल समावेश छन् भने बाँकी १९ खेल व्यक्तिगत विधाका हुन्। कबड्डीमा पुरुष र महिला गरी सर्वाधिक २४ खेलाडी छन्। पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी रहेका छन्।

महिला टोलीले भलिबलमा मात्र प्रतिस्पर्धा गर्नेछ भने क्रिकेट, क्यानोइ स्लालोम, डान्स स्पोर्ट, स्केटबोर्ड र तेक्वान्दोमा नेपालबाट पुरुष खेलाडी मात्र सहभागी हुनेछन्।

व्यक्तिगत खेलतर्फ उसुमा सर्वाधिक ११ खेलाडी रहेका छन् भने डान्स स्पोर्टमा एक खेलाडी मात्र सहभागी हुनेछन्। साइकलिङ, आर्चरी र स्क्वासमा एक–एक पुरुष र महिला खेलाडी छन् भने क्यानोइ स्लालोम, स्केटबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुई–दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

 

तपाईको प्रतिक्रिया