रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने सहमहामन्त्री एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहले जानकारी दिएका छन्। पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। सो क्रममा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन्।
त्यसपछि साँझ ६ बजेबाट ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा मन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादबाट प्राप्त सुझावसहित समसामयिक तथा नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ।
कार्यक्रममार्फत नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय बढाउने, नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति बनाउने तथा मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, नागरिकका वास्तविक समस्या पहिचान गरी नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने र पार्टी संगठन, संसदीय दल तथा सरकारमा रहेका प्रतिनिधिबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको रास्वपाले जनाएको छ।
रास्वपाले निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु लोकतन्त्रको मूल मर्म भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाउन लागिएको जनाएको छ।
तपाईको प्रतिक्रिया