सोमबार २५ श्रावण २०८३
समाज

सुनसरीमा धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति

आइतबार श्रावण २४, २०८३/ Sunday 08-09-26

काठमाडौं।  सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको झडपपछि धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार बसेको धर्मगुरु तथा प्रतिनिधिहरूको बैठकले सार्वजनिक स्थान र सडकमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने निर्णय गरेको हो।

बैठकले सार्वजनिक स्थानमा स्वीकृतिबिना डिजे वा माइक बजाउन नपाइने तथा धार्मिक कार्यक्रमसमेत सरकारले तोकेको ध्वनि मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने सहमति गरेको छ।

साउन १० गते डिजे बजाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा तीन जनाको मृत्यु भएको थियो। घटनापछि बढेको साम्प्रदायिक तनाव कम गर्न सबै समुदायले शान्ति, सद्भाव र संयम कायम गर्न आह्वान गर्ने निर्णय पनि भएको छ।

सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ राहत र एक सदस्यलाई रोजगारी दिने सहमति गरिसकेको छ। कोशी प्रदेश सरकारले मृतक परिवारलाई थप २ लाख तथा घाइते र आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया