शुक्रबार २२ श्रावण २०८३
बिश्वो

ट्रम्पको दाबी– इरानसँगको युद्ध चाँडै टुंगिन्छ, लेबनानमा इजरायली आक्रमण भने जारी

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व ‘निकट भविष्यमा अन्त्य हुने’ विश्वास व्यक्त गरेका छन्। ऊर्जा मूल्यवृद्धिबारे सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले युद्ध लामो समयसम्म नलम्बिने बताएका हुन्।

यसैबीच, मध्यपूर्वको महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा अमेरिका, इरान र ओमानबीच अस्थायी सहमतिको प्रयास अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त सहमति भएमा क्षेत्रीय तनाव कम हुनुका साथै विश्व ऊर्जा आपूर्तिमा देखिएको दबाब केही घट्ने अपेक्षा गरिएको छ।

यता, अमेरिकाको मध्यस्थतामा इटालीको रोममा जारी युद्धविराम वार्ताबाट कुनै ठोस निष्कर्ष ननिस्किरहेका बेला इजरायलले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा हवाई आक्रमण जारी राखेको छ।

मजदेल जुन क्षेत्रनजिक भएको विस्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मन्सूरी क्षेत्रलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको जनाएको छ। निरन्तरको हवाई हमलाबाट स्थानीय बस्तीमा क्षति पुगेको छ भने सर्वसाधारण पुनः विस्थापित हुन बाध्य भएका छन्।

इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घनको प्रत्युत्तरस्वरूप सैन्य कारबाही गरिएको दाबी गरेको छ। यद्यपि, दुई सैनिकको मृत्यु गराएको विस्फोटको जिम्मेवारी हिज्बुल्लाहले हालसम्म स्वीकार गरेको छैन।

रोममा जारी कूटनीतिक प्रयास पनि निष्कर्षविहीन बनेको छ। दक्षिण लेबनानबाट आफ्ना सेना फिर्ता गर्नु अघि हिज्बुल्लाहको पूर्ण निशस्त्रीकरण हुनुपर्ने इजरायलको अडानका कारण युद्धविराम वार्तामा सहमति जुट्न सकेको छैन।

 

तपाईको प्रतिक्रिया