सोमबार २५ श्रावण २०८३
माैसम

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार साउन २५ गते बिहान ६ बजेसम्म कोशी र बागमती प्रदेशका केही सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।

कोशीमा मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि वैकल्पिक मार्गसहित एकतर्फी यातायात सञ्चालनमा छ। मेची राजमार्गको इलाम–९ राजदुवालीमा पहिरो खस्दा झापा–ताप्लेजुङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको छ।

बागमतीमा बीपी राजमार्गको काभ्रे रोशी–९ पिन्थलीमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकिएको छ।

त्यस्तै कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित चारकिलो, कोदारी, लिपिङ र डुग्रेमा पहिरोका कारण यातायात ठप्प छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकको खाल्टेमा पनि बाढीले सडक अवरुद्ध पारेको छ।

प्रहरीले सडक खुलाउने काम जारी रहेको जनाएको छ। यात्रुहरूलाई यात्रा अघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया