रोल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, १० जना बेपत्ता
रोल्पा। अविरल वर्षासँगै गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा दुई जनाको मृत्यु भएको छ। पहिरोले घर तथा गोठ पुरिँदा १० जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्।
पहिरोमा परी घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा ६ वटा घर पुरिँदा ती घरमा रहेका १० जना बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरो खसेको हो। घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक विवरणअनुसार पहिरोले ६ घरसहित गोठमा क्षति पुर्याएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
तपाईको प्रतिक्रिया