मंगलबार २६ श्रावण २०८३
बिश्वो

ट्रम्पको दोस्रो कार्यकालपछि अमेरिकाले रद्द गर्‍यो १ लाख ७५ हजारभन्दा बढी भिसा

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी अमेरिकी भिसा रद्द गरिएको जनाएको छ।

विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसा रद्द गरिएको उल्लेख छ। मन्त्रालयका अनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी तथा लागुऔषधसम्बन्धी अपराध भिसा रद्दका प्रमुख कारण हुन्।

यस्तै, लापरवाहीपूर्वक सवारी चलाउने, यौन हिंसा, बाल दुर्व्यवहार, जालसाजी तथा आर्थिक हिनामिनाजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसासमेत रद्द गरिएको मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयले अमेरिकी भिसालाई अधिकार नभई ‘विशेषाधिकार’ का रूपमा व्याख्या गरेको छ। मन्त्रालयले अमेरिकी समुदायलाई सुरक्षित राख्न भिसाको दुरुपयोग गर्ने व्यक्तिविरुद्ध उपलब्ध सबै कानुनी संयन्त्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

ट्रम्प दोस्रोपटक ह्वाइट हाउस फर्किएपछि उनको प्रशासनले अमेरिकी अध्यागमन नीतिमा व्यापक कडाइ गर्दै आएको छ। यस क्रममा कागजपत्रविहीन आप्रवासीविरुद्ध कारबाही तीव्र पारिनुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिको निगरानी र छानबिनसमेत कडा बनाइएको छ।

 

तपाईको प्रतिक्रिया