शुक्रबार २९ श्रावण २०८३
राजनीति

देउवाले भने– शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएँ

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच महिनापछि स्वदेश फर्किएलगत्तै राष्ट्रिय एकता र पार्टी एकतामा जोड दिएका छन्।

बिहीबार जारी वक्तव्यमा देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। उनले विगतका विभाजन र विद्वेष अन्त्य गर्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्ने बताए।

युवा पुस्ताले उठाएका परिवर्तनका जायज मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले विगतका संघर्ष, त्याग र बलिदानलाई गलत ठहर्‍याउन नहुने स्पष्ट पारे।

देउवाले कांग्रेसभित्रको असहमति र निराशा तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिँदै पार्टी जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। संविधानको संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ।

आफू नेता बन्न नभई राष्ट्र, लोकतन्त्र र जनताको सेवाका लागि फर्किएको बताउँदै देउवाले सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन्।

 

तपाईको प्रतिक्रिया