काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। अघिल्लो दिन ०.५५ अंकको सामान्य वृद्धि भएको बजारमा यसदिन कारोबार रकमसमेत बढेको छ।
बिहीबार ३४७ वटा स्क्रिप्सको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ७२ करोड ७ लाख ७० हजार ७७ रुपैयाँ बराबरको कारोबार भयो। बुधबार भने ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो।
बजार बढ्दा दुई कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा पुगे। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किटमा कारोबार भयो। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको सेयर १३.०२ प्रतिशत तथा घलेमादी हाइड्रोपावरको सेयर ११.९० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा घलेमादी हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको करिब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन कारोबारमा आएका ३४७ स्टक्समध्ये १७१ वटाको मूल्य बढ्दा ८६ वटाको घट्यो भने १९ वटा स्टक्सको मूल्यमा कुनै परिवर्तन भएन।
समूहतर्फ पनि बजारमा सकारात्मक प्रभाव देखियो। इन्भेस्टमेन्ट र म्युचुअल फन्ड समूहका उपसूचक घटे पनि अन्य सबै समूहका उपसूचक वृद्धि भएका छन्।
तपाईको प्रतिक्रिया