शुक्रबार २९ श्रावण २०८३
राजनीति

आज स्वदेश फर्किंदै शेरबहादुर देउवा, विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरिने

बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदैछन्। देउवा बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागतको तयारी गरेको छ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य रमेश गौतमका अनुसार देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी निकालिनेछ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्। प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ।

तीन दिनसम्म चल्ने उक्त राष्ट्रिय भेलामा करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने नेपाल तरुण दलका केन्द्रिय सदस्य दिल लामाले देश दैनिकलाई बताए। 

 

तपाईको प्रतिक्रिया