किशोर श्रेष्ठ पक्राउपछि जनआस्थामा प्रहरी छापा, पत्रकारको विरोध
काठमाडौँ । ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले मध्यराति नख्खुस्थित उनको निवासमा छापा मारेको छ। प्रहरीले घरमा रहेका ल्यापटप, कम्प्युटर र मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ।
श्रेष्ठलाई बुधबार साँझ कुसुन्तीबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर टेकु लगिएपछि प्रहरी टोली उनको निवास पुगेको थियो। त्यसपछि प्रहरीले ललितपुरको ठाडोढुङ्गास्थित जनआस्थाको कार्यालयमा समेत छापा मार्ने तयारी गरेपछि पत्रकारहरूले विरोध जनाएका छन्।
समाचार प्रकाशनकै विषयलाई लिएर सम्पादकलाई पक्राउ गरी मिडिया हाउसमा छापा मार्ने तयारी गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको पत्रकार महासङ्घसहित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूको भनाइ छ। उनीहरूले समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन्।
प्रहरीका अनुसार व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतको अनुमतिपछि श्रेष्ठलाई पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार तथा सञ्चारकर्मीहरू उनको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौँ प्रहरी परिसर पुगेका छन्।
तपाईको प्रतिक्रिया