चुनदेवी पुगेपछि देउवा आक्रोशित, सरकारविरुद्ध ‘भोलि जवाफ दिने’ चेतावनी
काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा पुगेका छन्। उनलाई कांग्रेसको संस्थापन इतर समूहका सयौँ नेता–कार्यकर्ताले र्यालीसहित निवासमा पुर्याएका हुन्।
निवास पुगेपछि देउवाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै आफूविरुद्ध सरकारले बदमासी गरिरहेको आरोप लगाए।
अदालत र अन्तर्राष्ट्रिय निकायबाट आफूलाई पक्राउ गरी मुद्दा चलाउने पर्याप्त आधार नभएको भनिए पनि सरकारले जबर्जस्ती कारबाही अघि बढाएको उनको दाबी छ। उनले वर्तमान सरकारको कदमविरुद्ध अदालत र जनता उभिने बताउँदै ‘यसको जवाफ भोलि दिने’ चेतावनी दिए।
देउवाले गणतन्त्र आफूहरूकै संघर्षबाट आएको उल्लेख गर्दै वर्तमान सरकारले गणतान्त्रिक व्यवस्थामाथि नै बदमासी गरिरहेको आरोप लगाए।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको घटनामा घाइते भएपछि लामो समय उपचारमा रहेका देउवा बिहीबार नेपाल फर्किएका हुन्। स्वदेश फर्किएपछि नेता–कार्यकर्ताको साथ पाउँदा उनी उत्साहित देखिएका थिए।
देउवाले शुक्रबार कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनको सम्बोधनले कांग्रेसभित्रको आगामी शक्ति समीकरण र पार्टी एकता वा विभाजनको दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया