धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। त्यसलगत्तै मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखिएपछि शाहले राजीनामा दिएका हुन्। गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा बिहीबार सकिएपछि उनले पद त्याग गरेका हुन्।
प्रदेशसभाको बैठक साँझ ५ बजेका लागि बोलाइएको भए पनि केही ढिलाइपछि मात्र सुरु भएको थियो। बैठकमा सम्बोधन गर्दै शाहले आफूलाई दिइएको जिम्मेवारीअनुसार प्रदेश सरकार सञ्चालनका क्रममा काम गरेको दाबी गरे। उनले आफ्नो नेतृत्वमा भएका विभिन्न काम तथा सरकार सञ्चालनका क्रममा देखिएका चुनौतीबारे पनि धारणा राखे।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ। उक्त सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्ने तयारी भइरहेको छ।
तपाईको प्रतिक्रिया