काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो–२०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। नाडाको १८औँ संस्करणको अटो शोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि, सवारीसाधन तथा उपकरणबारे जानकारी दिने आयोजकले जनाएको छ।
नाडाले स्थापनाको ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यस वर्षको अटो शो आयोजना गरिएको हो। प्रदर्शनीमा २०० भन्दा बढी स्टल र १५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।
अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनका ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधनका ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहेको छ।
त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनी सहभागी छन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीतर्फ १० संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ।
आजदेखि सुरु भएको नाडा अटो शो–२०२६ यही भदौ १४ गतेसम्म सञ्चालन हुनेछ। यसअघि साउनको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमै नाइमा मोबिलिटी एक्स्पो आयोजना गरिएको थियो।
तपाईको प्रतिक्रिया