प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँने
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
प्रधानमन्त्रीसँग प्रश्न गर्न ११ सांसदले प्रश्न दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंहले प्रश्न सोध्नेछन्।
त्यस्तै, नेपाली कांग्रेसका वासना थापा र गीता गुरुङ तथा नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यसूची छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुस्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन्।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको छ।
तपाईको प्रतिक्रिया