बुधबार श्रीकृष्ण र गणेशको पूजा गर्नुहोस्, नयाँ काम थाल्न पनि शुभ हुने
काठमाडौँ । आज २०८३ साल भदौ १० गते बुधबार अर्थात् सन् २०२६ अगस्ट २६ तारिख। आज साउन शुक्ल पक्षको त्रयोदशी तिथि परेको छ। मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदैछन्। यस अवसरमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदासमेत दिइएको छ।
हिन्दू धर्मशास्त्रअनुसार सातै बारलाई विभिन्न देवी–देवतासँग सम्बन्धित मानिन्छ। विशेष व्रत तथा उपवासबाहेक पनि धेरै हिन्दू धर्मावलम्बीले आफूअनुकूल दिनमा देवी–देवताको पूजा तथा व्रत गर्ने परम्परा छ।
बुधबारलाई ‘बुध’ ग्रहको दिनका रूपमा लिइन्छ। यस दिन विशेषगरी भगवान् विष्णुको कृष्ण अवतार तथा गणेशको पूजा आराधना गर्ने धार्मिक मान्यता छ। पूजा गर्दा तुलसीको पात प्रयोग गर्नु शुभ मानिन्छ। नयाँ कामको सुरुवातका लागि पनि बुधबारलाई अनुकूल दिन मान्ने धार्मिक विश्वास छ।
बुधबार भगवान् कृष्णको व्रत तथा पूजा गरेमा मनोकामना पूरा हुने र इच्छित फल प्राप्त हुने विश्वास छ। धार्मिक मान्यताअनुसार यस दिन गरिने केही दान तथा पूजा–आराधनाले जीवनमा सकारात्मक प्रभाव पार्ने बताइन्छ।
बुधबार के गर्दा समृद्धि हुने धार्मिक विश्वास छ?
हिन्दू धर्ममा गाईलाई पूजनीय मानिन्छ। बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने धार्मिक विश्वास छ।
त्यस्तै, बुधबार मुंगको दाल दान गर्दा विभिन्न कष्टबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।
यस दिन भगवान् गणेशलाई सिन्दुर अर्पण गर्दा मनोकामना पूरा हुने उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
कुण्डलीमा बुध ग्रहसम्बन्धी दोष रहेको मान्यता भएका व्यक्तिले बुधबार भगवान् गणेशलाई लड्डु चढाउँदा लाभ मिल्ने धार्मिक विश्वाससमेत छ।
तपाईको प्रतिक्रिया