विपद् सामना गर्न दलहरू एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने
काठमाडौँ । मुलुकमा उत्पन्न पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित सर्वदलीय बैठकले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ। साथै, दीर्घकालीन पुनर्निर्माण र त्यसको प्रभावकारी अनुगमनका लागि संसदीय संयन्त्र गठन गर्ने सहमति भएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै राजनीतिक दल एक ठाउँमा उभिने परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा केन्द्रित हुने बताए।
उनका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक प्रयासबारे जानकारी दिइएको थियो। विभिन्न राजनीतिक दलले प्राप्त गरेका सूचना पनि सरकारलाई उपलब्ध गराइएको थापाले बताए।
थापाले अहिलेको प्राथमिकता खोज, उद्धार र तत्काल राहत भए पनि ठूलो क्षति भएकाले पुनर्निर्माणको काम लामो समयसम्म चल्ने बताए। सरकारलाई निरन्तर सुझाव र अनुगमन गर्न तथा राजनीतिक दलहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।
तपाईको प्रतिक्रिया