संकटको घडीमा सरकार नागरिकसँगै छ, उद्धार नसकिएसम्म सबै संयन्त्र मैदानमै रहन्छन्ः बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री शाहले “संकटको घडीमा सरकार नागरिकसँगै छ, उद्धार नसकिएसम्म सबै संयन्त्र मैदानमै रहन्छन्” भन्दै राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १३ हजार २९५ सुरक्षाकर्मी खोजी तथा उद्धारमा खटिएका छन्। बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको र करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। राहत सामग्री स्थल तथा हवाईमार्गबाट प्रभावित क्षेत्रमा पुर्याइँदैछ।
स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय पारिएको छ भने विभिन्न अस्पतालमा आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको छ। प्रभावित तथा घाइतेको निःशुल्क उपचार भइरहेको शाहले बताएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा पुनःस्थापनाका लागि समेत आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूलीसहित जोखिमयुक्त नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सरकारले अहिले बेपत्ताको खोजी, उद्धार, उपचार, राहत, सुरक्षित बसोबास र अत्यावश्यक पूर्वाधार पुनःस्थापनामा सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया