रसुवाको बाढीमा जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा
काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण ६७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार सबस्टेसनमा समेत क्षति पुगेपछि ४३१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ। निजी क्षेत्रका नौ आयोजनामा क्षति पुगेको छ, जसमा चार सञ्चालनमा रहेका र पाँच निर्माणाधीन आयोजना छन्।
बाढीपछि निजी जलविद्युत आयोजनामा कार्यरत ३३८ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् भने थप २१२ जना आयोजनाभित्रै उद्धारको पर्खाइमा रहेको डाँगीले बताए।
एण्डिज हाइड्रोका ७६ जना, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टका ११ जना तथा सोही आयोजनामा कार्यरत आठ कोरियाली नागरिक पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए। जेट कन्स्ट्रक्सन लामा जीबीआरएसका सात जना र रसुवागढी क्षेत्रमा ५४ जना पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
इप्पानले आर्थिक क्षतिको विवरणभन्दा मानवीय क्षति न्यूनीकरण, सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारलाई प्राथमिकता दिएको जनाएको छ।
तपाईको प्रतिक्रिया