शुक्रबार १२ भदौ २०८३
समाज

आज जनैपूर्णिमा, बडिमालिका दर्शनपछि नाटेश्वरीमा भक्तजनको घुईचो

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले जनै तथा रक्षासूत्र धारण गरी जनैपूर्णिमा पर्व मनाउँदैछन्। श्रावण शुक्ल पूर्णिमाका अवसरमा बिहानैदेखि नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै फेर्ने क्रम चलिरहेको छ।

बाजुराको प्रसिद्ध नाटेश्वरी मन्दिरमा भने जनैपूर्णिमाको अवसरमा विशेष मेला लागेसँगै भक्तजनको घुईंचो लागेको छ। बडिमालिका तीर्थयात्रामा सहभागी श्रद्धालुहरू बडिमालिका भगवतीको दर्शनपछि नाटेश्वरी पुगेर पूजाआजा तथा दर्शन गर्ने र त्यसपछि घर फर्किने धार्मिक परम्परा छ।

बडिमालिका दर्शनपछि नाटेश्वरी पुगेर दर्शन गर्ने परम्पराका कारण जनैपूर्णिमाको दिन नाटेश्वरीमा विशेष धार्मिक चहलपहल हुने गरेको छ। स्थानीयले नाटेश्वरीको जनैपूर्णिमा मेलालाई महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाउँदै आएका छन्।

जनैपूर्णिमाका दिन तागाधारी समुदायले वैदिक विधिअनुसार नयाँ यज्ञोपवीत (जनै) फेर्ने तथा मन्त्रिएको रक्षासूत्र धारण गर्ने गर्छन्। जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी नयाँ जनै धारण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भनिन्छ।

जनैपूर्णिमामा एघार थरी गेडागुडी मिसाएर टुसा उमारिएको क्वाँटी खाने परम्परा पनि छ। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर पर्व मनाउने चलन छ।

देशका विभिन्न धार्मिकस्थलमा समेत आज विशेष धार्मिक गतिविधि तथा मेला आयोजना भइरहेका छन्। रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, ललितपुरको कुम्भेश्वर, काठमाडौँको मणिचूड तथा नवलपरासीको त्रिवेणीधामलगायतका क्षेत्रमा बिहानैदेखि भक्तजनको चहलपहल छ।

 

तपाईको प्रतिक्रिया