अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनाको उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले उद्धार गरेको छ।
प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र जोखिमपूर्ण अवस्थाबीच सेनाले उद्धार अभियान सञ्चालन गरी उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो।
सेनाका अनुसार सोही सुरुङभित्र अझै १०० जनाभन्दा बढी फसेका छन्। उनीहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार प्रयास जारी छ।
यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य दुर्गम तथा प्रभावित क्षेत्रमा समेत नेपाली सेनाले उद्धार अभियानलाई तीव्रता दिएको छ।
सेनाका अनुसार हिजो अबेरसम्म रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिसकिएको छ। प्रतिकूल मौसमका बाबजुद जोखिममा रहेका नागरिकको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।
तपाईको प्रतिक्रिया