बाढीपीडितको उद्धार तथा राहतका लागि बागलुङका ६ पालिकाले २१ लाख ७० हजार दिने
बागलुङ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बागलुङका छ स्थानीय तहले २१ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन्।
निर्णयअनुसार गलकोट नगरपालिकाले ६ लाख ७० हजार, बागलुङ नगरपालिकाले ५ लाख, बडिगाड गाउँपालिकाले ५ लाख, ताराखोला गाउँपालिकाले २ लाख, काठेखोला गाउँपालिकाले २ लाख र जैमिनी नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्नेछन्।
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
यस्तै, बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलबभत्तासहित ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए।
तपाईको प्रतिक्रिया