त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धारका लागि हेलिकप्टरबाट लगियो एक्स्काभेटर
नुवाकोट । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियानलाई तीव्र बनाएको छ।
उद्धारका लागि आवश्यक एक्स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याइएको छ। ती उपकरणलाई खण्ड–खण्डमा (डिसमेन्टल) गरेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ पठाइएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित तथा आयोजनाक्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र परिचालन गरिएको छ। गएराति भीषण बाढी आए पनि उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने ‘ब्रेक थ्रु’को काम करिब एक घण्टाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। त्यसपछि मात्रै सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य अघि बढाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया