सोमबार १५ भदौ २०८३
समाज

कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक सडकबाट सवारी सञ्चालन

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्न थालिएको छ।

त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब २० मिटर सडकखण्डको आधाभन्दा बढी भाग भासिएको हो। सडक भासिएसँगै पृथ्वी राजमार्गमा बिहीबार बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौंँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ।

उनका अनुसार ठूला सवारीसाधनलाई काठमाडौं बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ पठाइनेछ। त्यस्तै, साना सवारीसाधन तथा माइक्रोबसलाई फर्पिङ हुँदै जाने मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यसैबीच, पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ पनि सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रवक्ता सुवेदीले कृष्णभीरमा सडक भासिएपछि यातायात व्यवस्थापनमा समस्या आएको र वैकल्पिक मार्गमार्फत सवारी सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। कान्तिलोकपथमा देखिएको अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने कामसमेत भइरहेको उनले बताए।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्गमा अवरोध सिर्जना भइरहेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

यता, सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौंँबाट विज्ञ टोली घटनास्थलतर्फ पठाइएको छ। विज्ञ टोलीले सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययन गरेपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया