सोमबार १५ भदौ २०८३
खेलकुद

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

सोमबार भदौ १५, २०८३/ Monday 08-31-26

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र बहराइनबीचको खेल बिहान ७ः१५ बजे मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा सुरु हुनेछ। ५० ओभरको खेलमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुँदैछन्।

सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा सहभागी भएको छ। १० टोली सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने नेपालको लक्ष्य छ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले बहराइनपछि भदौ १८ गते मलेसिया, भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग समूह चरणका खेल खेल्नेछ।

मलेसियाविरुद्ध पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा समेत नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो। साउदी अरेबियासँग नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो। हङकङविरुद्धको ५० ओभरको क्रिकेटमा भने नेपालले चार खेलमध्ये एक जित, दुई हार र एक खेलको नतिजा बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले पर्याप्त तयारीका कारण नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन्। भारतमा गरिएको प्रशिक्षण र मलेसियामा खेलिएका अभ्यास खेलले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ। नेपालको बलिङ टोलीको मुख्य शक्ति रहेको उनले बताए।

चौधरीका अनुसार नेपालका मुख्य प्रतिस्पर्धी यूएई र ओमान हुन्।

नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि सोही सफलता दोहोर्‍याउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा नेपाली टोली मैदान उत्रँदैछ।

 

तपाईको प्रतिक्रिया