भोटेकोशी बाढीमा फसेका ३ हजार २९ जनाको उद्धार, १ हजार ५५८ जना हराएको भन्दै निवेदन
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा अलपत्र परेका ३ हजार २९ जनाको उद्धार गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार उद्धार गरिएकामध्ये २ हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको उनले जानकारी दिए।
बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिएर बसेकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्रजिअ रेग्मीले बताए। उद्धारपछि स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक देखिएकालाई स्वास्थ्य संस्थामा पठाइएको तथा अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको उनको भनाइ छ।
जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको हुनसक्ने व्यक्तिबाहेक अन्य क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा अझै मानिस फसेको हुनसक्ने आशंकामा हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण (रेकी) भइरहेको छ।
१ हजार ५५८ जना हराएको भन्दै निवेदन
भोटेकोशी बाढीपछि आफन्त हराएको भन्दै १ हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै परिवारहरूले निवेदन दिएका हुन्।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नम्बर १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
बाढीमा फसेका तथा बेपत्ता भएकाको खोजी र उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासहित संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ।
नुवाकोटमा ९५ शव संकलन
बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव संकलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला पारिएको हो।
संकलित शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको भन्दै प्रहरीले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया