बुधबार १७ भदौ २०८३
अर्थ

४३ अंक घट्यो सेयर बजार, ३ अर्ब ६४ करोडको कारोबार

सोमबार भदौ १५, २०८३/ Monday 08-31-26

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपालको सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा झरेको हो। बजार सूचकसँगै यस दिन कारोबार रकममा समेत कमी आएको छ।

सोमबार ३४७ कम्पनीका ९३ लाख २२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ।

कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन। आज कारोबारमा आएका कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घटेको छ। सबैभन्दा ठूलो गिरावट मैलुङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।

त्यसैगरी, रसुवागढी हाइड्रोपावर, माछापुच्छ्रे इक्विटी र चिलिमे हाइड्रोको सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। भदौ १० गते रसुवा क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेपछि सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा उच्च दबाब देखिएको हो।

बजार समग्रमा राताम्मे रहे पनि २१ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया