बुधबार १७ भदौ २०८३
अर्थ

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित

मंगलबार भदौ १६, २०८३/ Tuesday 09-01-26

काठमाडौं । लगातार ६ कारोबार दिन ओरालो लागेको नेपाली सेयर बजार मंगलबार भने उकालो लागेको छ। आज नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९.२४ अंकले वृद्धि हुँदै २ हजार ५२२ अंकमा पुगेको छ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ।

आज कुल २७७ कम्पनीमध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

गत बुधबार आएको भीषण बाढीपछि निरन्तर दबाबमा रहेका बजारका अधिकांश समूहगत सूचक मंगलबार सकारात्मक देखिएका छन्। जलविद्युत् समूह सबैभन्दा बढी १.०१ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंक ०.११ प्रतिशत, फाइनान्स ०.२५ प्रतिशत, होटल तथा पर्यटन ०.६६ प्रतिशत, लगानी ०.६१ प्रतिशत, जीवन बीमा ०.८९ प्रतिशत, माइक्रोफाइनान्स ०.०५ प्रतिशत, निर्जीवन बीमा ०.८७ प्रतिशत, अन्य समूह ०.५४ प्रतिशत र व्यापार समूह ०.१० प्रतिशतले बढेका छन्।

उत्पादन तथा प्रशोधन समूह भने १ प्रतिशतले घटेको छ। यो समूहबाहेक अन्य सबै समूहगत सूचकमा वृद्धि देखिएको हो।

कम्पनीगत रूपमा हेर्दा माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल ४.८५ प्रतिशत, सान्जेन जलविद्युत् ३.८१ प्रतिशत, मेन्छियाम हाइड्रोपावर ३.६९ प्रतिशत र मान्डु हाइड्रोपावर ३.६१ प्रतिशतले बढेका छन्।

यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशतले घटेको छ। घोराही सिमेन्टको ५.५३ प्रतिशत, सीवाईसी लघुवित्तको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ५.२७ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर र चिलिमे हाइड्रोपावर अगाडि रहेका छन्।

तपाईको प्रतिक्रिया