बुधबार १७ भदौ २०८३
समाज

भोटेकोशी बाढीमा बेपत्ता बाह्रबिसेका परिवारलाई १ लाख १५ हजारका दरले राहत

मंगलबार भदौ १६, २०८३/ Tuesday 09-01-26

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएको नगरपालिकाले जनाएको छ। प्रभावितमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता छन्।

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार बेपत्ता हुने अधिकांश नागरिक रोजगारीका लागि रसुवा पुगेका थिए। उनीहरू सम्पर्कविहीन भएपछि कतिपय परिवारले घरको मुख्य आम्दानीको स्रोतसमेत गुमाएका छन्।

मेयर बस्नेतले बाढीका कारण बाह्रबिसे मात्र नभई सिंगो सिन्धुपाल्चोक नै शोकमा परेको बताए। रोजगारीका क्रममा बाहिर गएका नागरिक विपद्मा परेपछि उनीहरूका परिवार आर्थिक र मानसिक रूपमा थप संकटमा परेको उनको भनाइ छ।

बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। उक्त रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने जनाइएको छ।

बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन भण्डारीले संघीय सरकारबाट प्राप्त हुने राहत पीडित परिवारसम्म पुग्न समय लाग्न सक्ने भएकाले तत्कालका लागि नगरपालिकाकै विपद् कोषबाट सहयोग गर्ने निर्णय गरिएको बताए।

उनका अनुसार नगरपालिकाले राहतसँगै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई पनि प्राथमिकतामा राखेको छ। सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम भइरहेको छ।

भण्डारीले अझै धेरै नागरिक सम्पर्कमा नआएको भन्दै उनीहरू फेला पर्ने आशामा खोजी कार्यलाई निरन्तरता दिइरहेको बताए।

बाढीपछि परिवारका सदस्य बेपत्ता हुँदा उनीहरूको अवस्थाबारे जानकारी पाउन नसकेका परिवार थप पीडामा छन्। यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल राहत, आर्थिक सहयोग र आवश्यक मानवीय सहायता उपलब्ध गराउनु चुनौती बनेको छ। नगरपालिकाले बेपत्ता नागरिकको खोजीका साथै पीडित परिवारको आवश्यकताअनुसार सहयोगका कार्यक्रम अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया