काठमाडौं । राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायण प्रसाद दाहालले रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको थियो। बाढीमा ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्तजन तथा सम्बन्धित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
विशेष प्रस्तावमार्फत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा बाढीमा ज्यान गुमाएकाहरूको शव वैज्ञानिक र व्यवस्थित ढंगले व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्न राष्ट्रिय सभाले आग्रह गरेको छ।
विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत राष्ट्रिय सभाले अपिल गरेको छ।
भविष्यमा यस्ता प्राकृतिक विपद्का कारण हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी र विपद् व्यवस्थापनका कामलाई प्रभावकारी बनाउनुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ। विपद्को कठिन परिस्थितिमा राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्ने राष्ट्रिय सभाको निष्कर्ष छ।
तपाईको प्रतिक्रिया