बुधबार १७ भदौ २०८३
समाज

राहत कोषमा १५ दिनको तलब जम्मा गर्न राष्ट्रियसभा सदस्यलाई अध्यक्षको आग्रह

मंगलबार भदौ १६, २०८३/ Tuesday 09-01-26

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सांसदहरूलाई कम्तीमा १५ दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले भोटेकोसी बाढीपछि उत्पन्न विपद्, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा लामो धारणा राख्दै सांसदहरूलाई आफ्नो अनुकूलताअनुसार सहयोग रकम उपलब्ध गराउन आग्रह गरेका हुन्।

उनले विपद्पछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले सरकारी निकायसँगै नागरिक संस्थाहरूलाई समेत समेटेर उद्धार, राहत र पुनर्स्थापनाका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउन सरकारसँग आग्रह गरे।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावितको पुनर्स्थापनामा सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया