कृष्णभीर सडक भासिएपछि राजधानी बाहिरै एलपी ग्यास भर्न थालियो
चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरै ग्यास भर्न थालिएको छ। ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका तथा आसपासका ग्यास उद्योगले वैकल्पिक व्यवस्थामार्फत अन्य जिल्लामा ग्यास भरेर काठमाडौं ल्याउन थालेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ। उपत्यका तथा छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।
उपत्यका र आसपासका जिल्लामा मात्रै देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको चन्दले बताए।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म बाहिरी जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइनेछ। उनका अनुसार त्रिभुवन राजपथलगायत वैकल्पिक मार्ग प्रयोग गरी ग्यास उपत्यकामा भित्र्याइनेछ।
बाहिरी जिल्लाका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले तत्काल अभाव नहुने भन्दै कालाखेतीले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरेका छन्।
उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्ण ग्यासले साइबाबा, श्रीराम ग्यासले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। एभरेष्ट र सुगमले पनि साहारा उद्योगमा ग्यास भर्न थालेका छन्। अन्य उद्योगले समेत राजधानी बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्ने प्रक्रिया अघि बढाएका छन्।
तपाईको प्रतिक्रिया