काठमाडौं। रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेकै बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति र उद्धारसम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीका कारण विभिन्न जिल्लामा मानव अंगसहित ९८७ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० छन्। यस्तै गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु पुष्टि भएको छ।
बाढीमा परी २७९ जना घाइते भएका छन्। तीमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्। नेपाली सेनाका स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा २ हजार ७४० जनाको उपचार गरेका छन्। पहिचान खुल्न नसकेका शव २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
हजारौँ अझै सम्पर्कविहीन
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नुवाकोटबाट करिब १ हजार ५५८ र रसुवाबाट ८६५ जना बेपत्ता छन्। यस्तै विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना, ५८३ विदेशी नागरिक तथा उनीहरूसँग भ्रमणमा रहेका १६४ नेपालीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ। नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३ तथा भन्सार, अध्यागमन, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका गरी थप २४ कर्मचारी बेपत्ता छन्।
११ हजार ८ सयभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ पटक हवाई उडान गर्दै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ। मंगलबार मात्रै सेनाले १२ वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ।
राहत सामग्री ढुवानीका लागि सशस्त्र प्रहरीले रसुवा र नुवाकोटमा ५० भन्दा बढी हवाई उडान गरेको छ।
उद्धार तथा राहत कार्यमा २९ हजार १११ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन्।
प्रभावित नागरिकका लागि नुवाकोटमा २ हजार ४६६, काठमाडौंमा २९६, रसुवामा १८३ र धादिङमा २५ क्षमताका होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
करोडौँको राहत, इन्धन र सञ्चार सेवा पुनःस्थापित
सरकारले रसुवा र नुवाकोटका लागि १–१ करोड रुपैयाँ, धादिङका लागि ५० लाख तथा अन्य १५ प्रभावित पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा ३७ ट्रक, ३७ बोलेरो तथा हेलिकप्टरका नौ उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पुर्याइएको छ। इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमका ११० वटै टावर पुनः सञ्चालनमा आएका छन्। एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा पनि सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ।
तपाईको प्रतिक्रिया