सोमबार २२ भदौ २०८३
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।

मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ शव पहिचान हुन नसकेको अवस्थामा छन्। सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला तथा विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। हालसम्म फेला परेका शवमध्ये १ हजार ४४ शवको सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

बाढीपछि ९ हजार १५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक १ हजार १८१ जना र उनीहरूका आफन्त १ हजार १९५ जना गरी २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको छ।

बेपत्ताको खोजी, उद्धार तथा शव पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

 

तपाईको प्रतिक्रिया