सोमबार २२ भदौ २०८३
समाज

बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवीघाटमा बौद्ध भिक्षुको प्रार्थना

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

नुवाकोट । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाटमा धार्मिक अनुष्ठानसहित प्रार्थना गरेका छन्।

काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरू देवीघाट पुगेर बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिहरूको सुगतिको कामना गर्दै प्रार्थना गरेका हुन्। उनीहरूले दिवंगत आत्माले शान्ति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गरेका थिए।

रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती हुँदै नुवाकोट, धादिङलगायतका क्षेत्रमा परेको थियो।

बाढीका कारण घर, सडक, पुल, बजारलगायत भौतिक संरचनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। बेपत्ताको खोजी तथा मृतकको शव व्यवस्थापनको कामसमेत जारी रहेको छ।

उपलब्ध विवरणअनुसार विपद्का घटनामा हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना बेपत्ता र ६ हजार ७५ जना घाइते भएका छन्। उद्धार गरिएका व्यक्तिको संख्या १३ हजार १०४ पुगेको छ।

खोज तथा उद्धार र राहत कार्यका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले त्रिशूली नदी तथा आसपासका जोखिमपूर्ण क्षेत्रमा बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेका छन्।

देवीघाटमा गरिएको प्रार्थनामा भिक्षुहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी हुनुपर्ने तथा शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।

त्यसैगरी बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र विस्थापित परिवारको पुनःस्थापनाका लागि पनि प्रार्थना गरिएको थियो।

 

तपाईको प्रतिक्रिया