शनिबार २० भदौ २०८३
समाज

चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता

शुक्रबार भदौ १९, २०८३/ Friday 09-04-26

दार्चुला । अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी नदी आधा थुनिएको छ। पहिरो झर्ने क्रम नरोकिएकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नदी पूर्ण रूपमा थुनिएपछि एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले शुक्रबार दिउँसो सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रशासनले सम्भावित विपद्का बेला उद्धार आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा समेत तत्काल जानकारी गराउन भनिएको छ।

चौलानी नदीको अवस्था निरन्तर अनुगमन भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई नदी आसपास अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया