सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुखसहित पाँचविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर हुनेमा तत्कालीन मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई) तथा खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनीका रूपमा उल्लेख गरिएका पर्वतराज कान्त मिश्र छन्।
अख्तियारले कर्मचारीसहित प्रत्येक प्रतिवादीसँग ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो दाबी गरेको छ।
अख्तियारका अनुसार साविक बुझौली गाउँ पञ्चायतअन्तर्गतका विभिन्न कित्ताका जग्गा २०२२ सालमै हदबन्दीमा परी सरकारी तथा सार्वजनिक भइसकेका थिए। फिल्डबुकमा समेत कुनै व्यक्तिको नाम उल्लेख नभएको उक्त जग्गालाई कर्मचारी र भू–माफियाको मिलेमतोमा बदनियतपूर्वक व्यक्तिको नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार पछि उक्त जग्गा नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरी मुआब्जाबापत ठूलो रकम प्राप्त गर्ने उद्देश्यले पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरिएको थियो।
मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरूले अदालतको परमादेशको गलत व्याख्या गर्दै भूमिसम्बन्धी कानुनी प्रक्रिया पालना नगरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अख्तियारको आरोप छ।
तपाईको प्रतिक्रिया