समाज
चीनबाट तेस्रो चरणको राहत सामग्री र १० जना फरेन्सिक विज्ञ नेपाल आइपुगे
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
सोही विमानबाट १० जना चिनियाँ फरेन्सिक विज्ञ पनि काठमाडौं आएका छन्। उनीहरूले भोटेकोशी बाढीका पीडितको पहिचान प्रक्रियामा नेपाली पक्षलाई सहयोग गर्नेछन्।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।
तेस्रो चरणको सामग्रीमा शव राख्ने फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धारका लागि आवश्यक बेली पुललगायत सामग्री छन्।
चीनले यसअघि पनि नेपाललाई राहत सामग्री, उद्धार उपकरण र विशेषज्ञ टोली उपलब्ध गराउँदै आएको छ।
तपाईको प्रतिक्रिया