क्यानबेरामा ८८४८ मोमोको पहिलो आउटलेट, बाढीपीडितलाई १० हजार डलर सहयोग; राजेश हमालले गरे उद्घाटन
क्यानबेरा, अस्ट्रेलिया । नेपाली स्वाद र आतिथ्यलाई अस्ट्रेलियामा विस्तार गर्दै ८८४८ मोमो हाउसले क्यानबेराको किङ्स्टनमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको छ। ३१ अगस्टदेखि औपचारिक सेवा सुरु गरेको आउटलेटको भव्य उद्घाटन नेपाली चलचित्रका महानायक राजेश हमालले गरेका हुन्।
८८४८ मोमो हाउसका सञ्चालक काठमाडौं तार्केश्वर-६ निवासी सुमन तिमिल्सिना र पोखराका सुरेश आचार्यका अनुसार क्यानबेरामा पहिलो आउटलेट सञ्चालनमा ल्याउनु नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनाको महत्वपूर्ण सुरुवात हो। ब्रान्डका संस्थापक होम प्यासीको अवधारणालाई अगाडि बढाउँदै अस्ट्रेलियाबाट विस्तारको यात्रा सुरु गरिएको उनीहरूले बताएका छन्।
उद्घाटन कार्यक्रममा अभिनेता राजेश हमालको उपस्थितिले थप आकर्षण बढाएको थियो। हमालले आउटलेटको उद्घाटन गर्दै नेपाली परिकार र स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयासको प्रशंसा गर्दै सफलताको शुभकामना दिए।
आउटलेट सञ्चालनमा आएसँगै ग्राहकको उल्लेखनीय भीड देखिएको थियो। नेपाली समुदायसँगै स्थानीय ग्राहकहरू पनि किङ्स्टनस्थित आउटलेटमा पुगेर नेपाली शैलीका मोमो तथा अन्य परिकारको स्वाद लिएका थिए। उद्घाटन अवसरमा ग्राहकहरूलाई विभिन्न परिकारको स्वाद परीक्षणसमेत गराइएको थियो।
बाढीपीडितलाई १० हजार अस्ट्रेलियन डलर सहयोग
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै ८८४८ मोमो हाउस परिवारले भोटेकोशी बाढीबाट प्रभावितका लागि १० हजार अस्ट्रेलियन डलर सहयोग गरेको छ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रदान गरिएको जनाइएको छ।
यसैगरी, क्यानबेरामा आयोजित सहयोग अभियानबाट ८ हजार ५ सय अस्ट्रेलियन डलर समेत संकलन गरिएको छ।
सञ्चालक तिमिल्सिना र आचार्यले व्यवसायलाई नाफा आर्जन गर्ने माध्यममा मात्र सीमित नराखी समुदाय र विपद्मा परेकाहरूलाई सहयोग गर्ने माध्यमका रूपमा समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्यानबेराको किङ्स्टनमा खुलेको ८८४८ मोमो हाउसको यो पहिलो आउटलेट हो। पहिलो दिनदेखि नै देखिएको ग्राहकको उत्साहजनक उपस्थितिले नेपाली स्वादप्रतिको आकर्षणसँगै ब्रान्डको अस्ट्रेलिया विस्तार यात्रालाई समेत उत्साहजनक सुरुवात दिएको छ।
तपाईको प्रतिक्रिया