सोमबार २२ भदौ २०८३
खेलकुद

ला लिगाः भ्यालेन्सियामाथि बार्सिलोनाको फराकिलो जित

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

काठमाडौं। स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको मद्दतमा एफसी बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ५–० को फराकिलो जित दर्ता गरेको छ। भ्यालेन्सियाको घरेलु मैदानमा गएराति भएको खेलमा यामालले यस सिजनको ला लिगामा आफ्नो पहिलो गोलको खाता खोलेका हुन्।

खेलको छैटौं मिनेटमै प्राप्त पासलाई १९ वर्षीय यामालले उत्कृष्ट ढङ्गले टो–पिक गर्दै गोलमा परिणत गरी बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। गोलपछिको उत्सवका क्रममा उनले औंला मुखमा हालेर आफ्ना चार वर्ष पुगेका भाइ केयनप्रति गोल समर्पित गरे। उक्त खेल हेर्न उनकी आमा र भाइ रङ्गशालामा उपस्थित थिए।

बार्सिलोनाका लागि फर्मीन लोपेज, राफिन्हा र रोड्रिले थप एक–एक गोल गर्दै टोलीको अग्रता फराकिलो बनाएका थिए। खेलको ८४ औं मिनेटमा डानी ओल्मोको पासमा यामालले बायाँ खुट्टाले दोस्रो गोल गर्दै बार्सिलोनाको ५–० को जित पक्का गरे।

यो जितसँगै बार्सिलोनाले लगातार चार खेल जित्दै ला लिगाको शीर्ष स्थान कायम राखेको छ। चोटका कारण अघिल्लो सिजनको अन्तिम केही खेल गुमाएका यामालले यसै गृष्मकालीन विश्वकपमा स्पेनलाई दोस्रो पटक उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

तपाईको प्रतिक्रिया