बिहीबार १८ भदौ २०८३
समाज

२५ जनाको उद्धारका लागि लाङटाङ खोला सुरूङमा बनाइयो ‘म्यानहोल’

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

रसुवा । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धारका लागि उद्धार टोलीले वैकल्पिक प्रवेशमार्ग तयार गरेको छ।

सुरूङको मुख्य बाटोबाट उद्धार गर्ने प्रयास गर्दा ढुंगा, माटो र लेदोले बाटो अवरुद्ध भएपछि टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले आयोजनाको खाली पेनस्टक पाइपबाट सुरूङभित्र पुग्ने वैकल्पिक योजना अघि सारेको थियो।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो। टोलीले पाइपमा मेसिन प्रयोग गरेर मानिस प्रवेश गर्न सक्ने ‘म्यानहोल’ अर्थात् प्रवेशद्वार बनाउन सफल भएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।

उनका अनुसार अब यही म्यानहोलबाट उद्धार टोली सुरूङभित्र प्रवेश गर्नेछ।

तर बुधबार परेको ठूलो वर्षाका कारण उद्धारका क्रममा जोखिम बढेपछि नेपाली सेनाको टोली तत्काल म्यानहोलबाट भित्र प्रवेश गर्न सकेन। मौसम र सुरक्षाको अवस्था अनुकूल भए बिहीबार बिहान म्यानहोल हुँदै सुरूङभित्र प्रवेश गरेर खोजी तथा उद्धार अघि बढाउने तयारी छ।

आयोजनाका महाप्रबन्धक भट्टराईले सुरूङभित्र प्रवेश गरेपछि मात्रै त्यहाँको वास्तविक अवस्था स्पष्ट हुने बताए। फसेका मानिस भेटिए तत्काल उद्धार गरिने र अन्य अवस्था देखिए त्यसअनुसार खोजी तथा उद्धारलाई अगाडि बढाइने उनको भनाइ छ।

रसुवामा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना केही दिनदेखि सम्पर्कविहीन छन्। उनीहरू सुरूङभित्र फसेको हुन सक्ने आशंकामा नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले खोजी गरिरहेको छ।

यसअघि मंगलबार नेपाली सेना, भारतीय तथा नेपाली प्राविधिकसहितको टोली मुख्य सुरूङबाट भित्र प्रवेश गरेको थियो। करिब १५० मिटर अगाडि पुग्नुपर्ने भए पनि ठूला ढुंगा, माटो र लेदोले बाटो अवरुद्ध भएपछि टोली करिब १०० मिटरमै रोकिएको थियो।

मुख्य सुरूङबाट अघि बढ्न कठिन भएपछि बुधबार सुरूङ नखनी पेनस्टक पाइपबाट वैकल्पिक प्रवेशमार्ग तयार गरिएको हो।

 

तपाईको प्रतिक्रिया